१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
डेंगु संक्रमितको संख्या ५ हजार नाघ्यो
डेंगु संक्रमितको संख्या ५ हजार नाघ्यो
  • paschimpatra

काठमाण्डाै । पछिल्लो समय डेंगुको महामारी बढीरहेको छ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भदौ १९ गते आइतबारसम्म ५ हजार २९ जना डेंगुबाट संक्रमित भइसकेका छन्। डेंगु संक्रमणबाट अहिलेसम्म १ जनाको मृत्यु भएको छ।

डेंगु संक्रमण बढी संख्यामा काठमाडौं उपत्यकामा फैलिएको छ। उपत्यकामा ३ हजार ७ सय २७ जना डेंगुका संक्रमित छन्। उपत्यकाभित्र ललितपुर जिल्लामा डेंगुका धेरै संक्रमित छन्। ललितपुरमा डेंगु संक्रमितको संख्या १ हजार ८ सय ३२ छ। त्यस्तै काठमाडौंमा ८ सय ८८ डेंगु संक्रमितको संख्या छ भने भक्तपुरमा ९९ जना छन्।

सरुवा रोग विशेषज्ञ डा। अनुप बास्तोला डेंगु संक्रमणको प्रकोप अझै १ महिना रहने बताउँछन्। बास्तोला भन्छन्, ‘यो समय डेंगु फैलने समय नै हो। अबको ४/५ हप्ताबाट संक्रमण दर घट्न सक्छ। जाडो महिना सुरु हुँदैछ अब विस्तारै जाडो बढेसँगै डेंगुको बिरामी पनि घट्छन्। यो भन्दा अगाडिका डेंगु संक्रमणको अवस्थालाई पनि हेर्ने हो भने जाडो महिना लागेसँगै संक्रमण घट्दै गइरहेको अवस्था छ।’

चिसोमा लामखुट्टेको वृद्धि विकास पनि कम हुँदै जाने भएकाले डेंगु संक्रमण घट्ने बास्तोला बताउँछन्। डेंगु संक्रमणको प्रमुख कारणमध्ये एउटा बढदो शहरीकरण रहेको बास्तोलाको भनाइ छ। ‘२०१८ को तथ्यांक हेर्ने हो भने काठमाडौं उपत्यकामा डेंगु संक्रमणको संख्या शून्य नै थियो। विस्तारै उपत्यकामा पहाडी जिल्लाका मानिस बस्न आए। उनीहरुलाई कहिल्यै डेंगु नै भएको थिएन् र उपत्यकामा बढ्दो शहरीकरणका कारणले पनि डेंगु संक्रमण फैलियो’, उनले भने। अव्यवस्थित सवारीसाधन, बढ्दो संख्यामा रहेका ग्याँरेजका कारण लामखुट्टे अनुकुल वाताबरणले डेंगु संक्रमण बढेको उनले बताए।

के हो डेंगु र यसका लक्षणहरु ?

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। विशेषगरी यो घाम उदाउने वा अस्ताउने बेलातिर एडिज जातीको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। संक्रमितमध्ये १० प्रतिशत व्यक्तिहरुमा डेंगुको लक्षणहरु देखिन्छ।

डेंगु भएमा एक्कासि टाउको दुख्ने, उच्च ज्वरो आउने, मांसपेशी दुख्नुका साथै ढाडको जोर्नीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाक लाग्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, नाक, गिजाबाट रगत बग्ने आदि लक्षणहरू देखिने गर्दछ। बस्तोलाका अनुसार डेंगु भएको खण्डमा लगातार तीनदेखि १० दिनसम्म ज्वरो आउने गर्दछ।

कसरी बच्ने डेंगुबाट ?

डा. बास्तोला डेंगु हुँदा ज्वरो आउने र धेरै ज्वरो आएमा पारासिटामोल खानुपर्ने बताउँछन्। त्यस्तै डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उपयुक्त विकल्प रहेको उनको भनाइ छ।

बस्तोला भन्छन्,‘डेंगुबाट बच्न हामी एकजना लागेर हुँदैन सबै जना लाग्न आवश्यक छ। हामीले घरमा रोपेको फूलको गमलामा पानी जमेको छ भने त्यहाँ पनि लामखुट्टे आउँछ र डेंगु संक्रमण हुन सक्छ। त्यसैले हामीले घर वरिपरि सफा राख्नुपर्ने हुन्छ।’

घर वरिपरि सफा राख्ने,पानी जम्ने खाल्टाखुल्टी पुर्ने,पानी टयांकीमा लामखुट्टे बस्न नदिनका लागि ढाकेर राख्ने,सकेसम्म सुत्दा झुलको प्रयोग गर्ने, खेतबारीमा काम गर्दा सकेसम्म हातखुट्टा ढाक्ने लुगा लगाउने, लामो बुट लगाउने, सकेसम्म साझ घरबाट बाहिर ननिस्कने, लामखुट्टे आउन नदिन विभिन्न खालको औषधिहरुको प्रयोग गर्न सकिने बास्तोलाले बताए। त्यस्तै घरमा लामखुट्टे लाग्न नदिन झ्याल ढोकामा जाली लगाउन उनको सुझाव छ।

नागरिकबाट

  • २० भाद्र २०७९, सोमबार प्रकाशित
  • Nabintech