
२२ कात्तिक काठमाडौँ । पोल्यान्डको ऐतिहासिक सहर क्राकोमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १५ जना घाइते भएका छन् । प्रहरीले गोली चलाउने संदिग्धलाई नियन्त्रणमा लिएको छ ।शनिबार दिउँसो क्राकोको मुख्य बजार क्षेत्रमा भएको घटनामा चार महिला र दुई पुरुषको मृत्यु भएको हो । घाइतेमध्ये पाँच जना विदेशी नागरिक रहेको पोलिस अधिकारीहरूले बताएका छन् ।घटनापछि प्रहरीले संदिग्धको घरमा खोजी गर्दा थप तीन जनाको शव फेला पारेको छ ।
प्रधानमन्त्री डोनाल्ड टस्कका अनुसार घरमा दुई महिला र एक पुरुषको शव भेटिएको हो । उनीहरू संदिग्धका निकट परिवारका सदस्य हुन सक्ने प्रारम्भिक अनुमान छ । तर ती तीन जनाको मृत्यु र क्राकोको गोलीकाण्डबीचको सम्बन्धबारे अनुसन्धान जारी छ ।प्रहरीका अनुसार संदिग्धले कारबाट गोली चलाउँदै क्राकोको मुख्य बजार क्षेत्रमा मानिसहरूमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे गोली चलेको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो ।प्रहरीका अनुसार संदिग्ध पोल्यान्डकै नागरिक हुन् । उनको कारबाट अन्य हतियार र ठूलो परिमाणमा गोलीगट्ठा पनि फेला परेको छ ।