
२२ कात्तिक दैलेख । दैलेखमा धारिलो हतियार प्रहारबाट एकै परिवारका चार जना घाइते भएका छन् ।
दैलेखको ठाटीकाँध गाउँपालिका ४, धनकोटमा धारिलो हतियार प्रहारबाट एकै परिवारका चार जना घाइते भएका हुन ।जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आइतबार बिहान करिब ५ बजे अन्दाजी ३७ वर्षीय बमबहादुर रावलले स्थानीय चन्द्रबहादुर पुन मगरको घरमा प्रवेश गरी परिवारका सदस्यहरूमाथि धारिलो हतियार प्रहार गरेका हुन् ।आक्रमणबाट चन्द्रबहादुरकी श्रीमती बिमासहित चार जना घाइते भएका छन् ।
घाइतेमध्ये बिमाको टाउको र अनुहारमा गहिरो चोट लागेको छ भने महेसराका दुवै हत्केला काटिएका छन् । उनीहरू दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।त्यस्तै, लक्ष्मी र तिलाको अवस्था मध्यम रहेको छ । घाइते चारै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।घटनामा संलग्न बमबहादुर रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।