१९ कार्तिक २०८३, बुधबार
१९ कार्तिक २०८३, बुधबार
जाजरकोटको पोखरा बजारमा पूर्णिमा मेला लाग्दै, विभिन्न सांस्कृतिक तथा खेलकुद प्रतियोगिता हुने
जाजरकोटको पोखरा बजारमा पूर्णिमा मेला लाग्दै, विभिन्न सांस्कृतिक तथा खेलकुद प्रतियोगिता हुने
  • न्युज डेस्क

जाजरकोट। जाजरकोटको भेरी नगरपालिका–९, पोखरा बजारमा कोजाग्रत पूर्णिमाको अवसरमा पूर्णिमा मेला आयोजना हुने भएको छ।

नमुना युवा विकास केन्द्र भेरी–९ जाजरकोटको आयोजनामा सञ्चालन हुने मेलामा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसँगै खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।

मेलाको अवसरमा खुला वडास्तरीय भलिबल प्रतियोगिता, सिंगारु नाच प्रतियोगिता, मयूर नाच प्रतियोगिता र एकल नृत्य प्रतियोगिता आयोजना गरिनेछ। स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्नुका साथै मनोरञ्जनात्मक गतिविधिमार्फत समुदायलाई एकताबद्ध गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो।

आयोजकका अनुसार खुला वडास्तरीय भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले ८१ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुनेले ५१ हजार १ सय ११ रुपैयाँ र तेस्रो हुनेले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी टोलीका लागि दर्ता शुल्क ८ हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै, सिंगारु नाच र मयूर नाच प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः ३ हजार, २ हजार र १ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यी दुवै प्रतियोगितामा सहभागी हुन १ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ।

एकल नृत्य प्रतियोगितामा प्रथम हुनेले २ हजार रुपैयाँ, द्वितीय हुनेले १ हजार ५ सय रुपैयाँ र तृतीय हुनेले १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस प्रतियोगिताको दर्ता शुल्क ५०० रुपैयाँ तोकिएको छ। प्रतियोगितामा उत्कृष्ट हुने सहभागीलाई पुरस्कारसँगै प्रमाणपत्रको व्यवस्था गरिएको छ।

खेलमा सहभागी हुन २०८३ साल कार्तिक  ६ गतेदेखि ८ गतेसम्म दर्ता गर्न सकिनेछ भने खेल सञ्चालन कार्तिक ८ गतेदेखि हुनेछ। मेलामा स्थानीय कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।

स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्दै मनोरञ्जन तथा खेलकुदको माध्यमबाट आपसी सद्भाव र सहकार्य अभिवृद्धि गर्ने अपेक्षासहित मेला आयोजना गर्न लागिएको हो।

  • ३० आश्विन २०८३, शुक्रबार प्रकाशित
  • Nabintech