२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
रिसाङका २ सय पहिरो प्रभावित परिवारलाई २४ लाख बराबरको राहत
रिसाङका २ सय पहिरो प्रभावित परिवारलाई २४ लाख बराबरको राहत
  • paschimpatra

जाजरकोट । भेरी नगरपालिका–२ रिसाङका पहिरो प्रभावित २ सय घरधुरीले करिब २४ लाख रुपैयाँ बराबरको गैह्रखाद्यान्न तथा अत्यावश्यक सामग्री राहतस्वरूप प्राप्त गरेका छन्। पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र सेभ द चिल्ड्रेनको सहकार्यमा उक्त सामग्री वितरण गरिएको हो।

गत श्रावण ३० गते अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट प्रभावित परिवारलाई त्रिपाल, भाँडाकुँडा, सरसफाइ सामग्री, बाल्टी, जग, साना ब्ल्याङ्केट तथा बालबालिकाका लागि कपडासहितको राहत प्याकेज हस्तान्तरण गरिएको हो।

पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष छवि पन्तका अनुसार पहिरो भएको भोलिपल्टै ३० प्रभावित व्यक्तिलाई तत्काल राहत उपलब्ध गराइएको थियो। त्यसपछि जिल्ला विपद् व्यवस्थापन समिति र भेरी नगरपालिकाको समन्वयमा भदौ ६ गते थप २ सय घरधुरीलाई राहत वितरण गरिएको हो।

अविरल वर्षाका कारण भेरी नगरपालिका–१ देखि ४ सम्मका विभिन्न बस्ती पहिरोको चपेटामा परेका थिए। नगर प्रमुख चन्द्र प्रकाश घर्तीका अनुसार हाल विजय प्राथमिक विद्यालय (स्याला), महिला सुरक्षित आश्रयस्थल (थाप्ले), त्रिभुवन आधारभूत विद्यालय (रिसाङ) र विष्णु प्राथमिक विद्यालय (दार्नेटा) गरी चार स्थानमा प्रभावित परिवारलाई आश्रयको व्यवस्था गरिएको छ।


नगरप्रमुख घर्तीले अस्थायी आवाससँगै अत्यावश्यक सामग्रीको सहयोगले पहिरो प्रभावित परिवारलाई तत्काल राहत र दैनिक जीवन सहज बनाउन महत्वपूर्ण सहयोग पुगेको बताएका छन्।

  • ६ भाद्र २०८३, शनिबार प्रकाशित
  • Nabintech