२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
मृतकका परिवारसहित ३० घरधुरीलाई ५ लाख ३४ हजार बराबरको राहत
मृतकका परिवारसहित ३० घरधुरीलाई ५ लाख ३४ हजार बराबरको राहत
  • paschimpatra

जाजरकोट । भेरी नगरपालिका–२ रिसाङ र वडा नं. ३ स्यालाका पहिरो प्रभावित ३० घरधुरीलाई करिब ५ लाख ३४ हजार रुपैयाँ बराबरको राहत तथा अस्थायी आवास सामग्री वितरण गरिएको छ।

पाँचतारा युवा संरक्षण मञ्च र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा रिसाङका १५ र स्यालाका १५ गरी ३० घरधुरीलाई राहत सामग्री उपलब्ध गराइएको हो। राहतमा त्रिपाल, भाँडाकुँडा, ब्ल्याङ्केट, सरसफाइका सामग्रीलगायत अस्थायी बसोबासका लागि आवश्यक सामग्री रहेका छन्।

अविरल वर्षाका कारण घर तथा बस्ती जोखिममा परेका परिवारलाई तत्काल सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्ष छवि पन्तले बताउनुभयो।

साउन ३० गतेदेखि परेको लगातारको वर्षाका कारण भेरी नगरपालिका–१, २, ३ र ४ लगायतका क्षेत्रमा बाढी तथा पहिरोबाट ठूलो क्षति भएको छ। प्रारम्भिक विवरणअनुसार विपद्मा परी चार जनाको मृत्यु भएको छ भने २५ घरधुरीका मानिस घाइते भएका छन्। करिब ३ सय घरधुरी प्रभावित भएको जनाइएको छ।

पहिरो प्रभावित बस्तीमा खाद्यान्न, सुरक्षित आवास, खानेपानी, औषधि उपचारलगायत दैनिक उपभोगका अत्यावश्यक सामग्रीको अभाव देखिएको छ। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा अस्थायी आवास व्यवस्थापनका लागि स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र विभिन्न सहयोगी संस्थाले राहत तथा उद्धारलाई निरन्तरता दिएका छन्।

विपद्बाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न थप राहत तथा अस्थायी आवास सामग्री आवश्यक रहेको स्थानीयको भनाइ छ। सम्बन्धित निकाय र सहयोगी संस्थाबीच प्रभावकारी समन्वय गर्दै प्रभावित परिवारसम्म राहत पुर्‍याउने कामलाई तीव्रता दिनुपर्ने देखिएको छ।

  • ३१ श्रावण २०८३, आईतवार प्रकाशित
  • Nabintech