
१९ बैशााख सल्यान । सल्यानमा प्रहरी कार्यालय भित्रै ठुलो परिमाणमा बम फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा सो ठूलो परिमाणमा बम फेला परेको बताइएको छ ।भवन निर्माणका लागि जग खन्ने क्रममा शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा बम फेला परेको हो ।
बुधबार दिउँसो शारदा नगरपालिका–३ स्थित प्रहरी परिसरमा शंकास्पद वस्तु देखिएपछि उत्खनन् सुरु गरिएको थियो ।उत्खनन् गर्दा शनिबार बिहान समयमा कूल ८६ वटा बम फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार ८२ वटा सकेट बम, ३ वटा सुतली बम र १ वटा बोतल बम बरामद भएको हो ।जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक डा। हेमबहादुर केसीले उत्खननकै क्रममा रेडियो वेभ उपकरण ७ थान, करिब ५०० ग्राम विस्फोटक पदार्थ, झण्डै २ केजी बम बनाउन प्रयोग हुने सामग्री र १० मिटर फायरिङ केबल समेत भेटिएको जानकारी दिए ।घटना सार्वजनिक भएपछि सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएका छन् । प्रारम्भिक चरणमा प्रहरी टोली खटिएपछि नेपाली सेनासँग समन्वय गरी थप जनशक्ति परिचालन गरिएको थियो । उपसेनानी कृष्ण क्षेत्रीको नेतृत्वमा सेना टोली घटनास्थल पुगेको थियो ।