३ फाल्गुन २०८२, आईतवार
३ फाल्गुन २०८२, आईतवार
शक्तिको चुनौती सामना गर्दै उभिएका कांग्रेसका उम्मेदवार : को हुन् खडक बहादुर बुढा ?
शक्तिको चुनौती सामना गर्दै उभिएका कांग्रेसका उम्मेदवार : को हुन् खडक बहादुर बुढा ?
  • paschimpatra

जाजरकोट । जाजरकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र यतिबेला फेरि एकपटक राजनीतिक प्रतिस्पर्धाको केन्द्रमा छ। अघिल्लो निर्वाचनमा नेकपाका शक्तिबहादुर बस्नेत विजयी भएको यो क्षेत्रमा यसपटक उनलाई प्रत्यक्ष चुनौती दिँदै कांग्रेसबाट खडकबहादुर बुढा चुनावी मैदानमा उत्रिएका छन्।

जाजरकोटको शिवालय गाउँपालिका–९, नाहाडामा जन्मिएका बुढा पहिलोपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। विद्यार्थी राजनीतिबाट उदाएका उनी २०५३ सालमा वीरेन्द्र उच्चमावि जुंगाथापाचौरमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघको साधारण सदस्य बनेर राजनीतिक यात्रामा होमिएका थिए।

१० वर्षपछि २०६३ मा नेविसंघ जाजरकोट जिल्ला सचिव बनेका उनी २०६४ मा भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको स्ववियु सभापति निर्वाचित भए। त्यसपछि पार्टी संगठनभित्र निरन्तर उकालो चढ्दै २०६७ मा नेपाली कांग्रेसको १२औँ महाधिवेशन प्रतिनिधि बने त्यसबेला खुल्लातर्फ देशकै कान्छो प्रतिनिधिको रूपमा परिचित भए।
२०७३ मा १३औँ महाधिवेशनबाट कांग्रेस जाजरकोट जिल्ला सचिव र २०७८ मा १४औँ महाधिवेशनबाट जिल्ला उपसभापति निर्वाचित भएका बुढा २०७९ देखि हालसम्म कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिरहेका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा शिवालय गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा गरे पनि विजयी हुन सकेनन्।

शैक्षिक रूपमा पनि उनी सक्षम मानिन्छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका बुढा जिल्लामा युवामाझ परिचित र सक्रिय नेताका रूपमा चिनिन्छन्।

राजनीतिक समीकरण हेर्दा जाजरकोट रोचक मोडमा छ। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ शक्तिबहादुर बस्नेतले ३४ हजार १५१ मतसहित जित हात पारेका थिए भने एमालेका नीरज आचार्य २५ हजार १२० मतसहित दोस्रो स्थानमा थिए। तर समानुपातिकतर्फ कांग्रेस २२ हजार ९३४ मतसहित पहिलो दल बनेको थियो। एमालेले १९ हजार ७४९ र माओवादीले १४ हजार ४१२ मत पाएको तथ्यांकले यसपटकको प्रतिस्पर्धा अझ पेचिलो बन्ने संकेत गर्छ।

युवापुस्ताको प्रतिनिधित्व गर्दै बुढा शक्तिशाली प्रतिस्पर्धी बस्नेतविरुद्ध उभिएका छन्। शक्तिको गढ मानिएको क्षेत्रमा यसपटक विरासत जोगिने कि परिवर्तनको लहर चल्ने जाजरकोटको चुनावी परिणामले धेरै अर्थ राख्नेछ।

  • ३ फाल्गुन २०८२, आईतवार प्रकाशित
  • Nabintech