
सीता न्यौपाने
२ फागुन काठमान्डौं । बंगलादेशको चुनावमा जेन जी नेतृत्व पत्तासाप भएको छ । सन् २०२४ को हिंसात्मक विद्यार्थी आन्दोलनको जगमा जन्मिएको ‘नेशनल सिटीजन पार्टी’ ले लज्जास्पद हार व्यहोरेको हो ।
बहुमत ल्याउने अपेक्षा गरिएको पार्टीले अहिलेसम्म ६ स्थानमा मात्रै जीत हासिल गरेको छ । २०० सीट जित्ने दाबी गरे पनि मतपरिणाम सोचेभन्दा फरक आएको छ ।डेढ वर्षअघि भूतपूर्व सेनाका सन्तानलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको जेन–जीहरुले सरकारविरुद्ध आन्दोलन चर्काएका थिए ।करिब एक महिना चलेको आन्दोलनमा १४ सय जनाको ज्यान गयो । त्यसैगरी २५ हजार बढी घाइते भए ।अन्ततः सरकार प्रमुख शेख हसिनालाई देशै छोडेर भाग्ने बनायो । हाल उनी भारतमा निर्वासित छिन् ।हसिनाको १५ वर्षे शासनसत्ता ढाल्दै जन्मिएको पार्टीले अबको शासन हातमा लिने अपेक्षा गरिएको थियो । तर विध्वंश मच्चाउँदै राजनीतिमा स्थापित हुन आएका युवालाई मतदाताले भने खबरदारी गरेका छन् । जेन–जी दललाई जनताले पत्याउन सकेनन् ।
बंगलादेशको सिको गर्दै नेपालमा पनि भदौ २३ र २४ गते जेन–जी आन्दोलन भयो । २१ जना विद्यार्थीसहित ७६ जनाले ज्यान गुमाए । यसका साथै, केपी शर्मा ओली नेतृत्वको सरकार पनि ढल्यो । अन्तरिम सरकारले फागुन २१ गते चुनाव गर्दैछ । बंगलादेशमा प्रदर्शनकारीहरुले छुट्टै दल स्थापना गरेर चुनाव लडेका थिए ।तर, नेपालमा भने जेन–जी आन्दोलनपछिको परिवर्तनको अपनत्व राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले लिएको छ । जेन–जी आन्दोलनको आह्नवान गर्ने युवाहरुले उम्मेदवारी दिएका छैनन् । तर रास्वपाले जेन–जीको एजेन्डा आफूहरुले पूरा गर्न सक्ने दाबी गर्दै चुनावी मैदानमा पुगेको छ ।बंगलादेशमा बिहीबार भएको आमनिर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी बीएनपी ले स्पष्ट बहुमत हासिल गरेको छ । जेन–जी विद्रोहपछि भएको पहिलो चुनावमै १७ वर्षपछि पुनः बीएनपी पार्टीले बहुमत ल्याएको हो ।
ढाका ट्रिब्युनका अनुसार ३०० सिटमध्ये बीएनपीले २१६ सिटमा जित हासिल गरिसकेको छ । जुन सरकार बनाउन आवश्यक बहुमत हो ।पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ । पूर्वप्रधानमन्त्री खालिदाको गत डिसेम्बर ३० मा ८० वर्षको उमेरमा निधन भएको थियो ।रहमानले चुनाव लडेका दुवै क्षेत्रमा जित हासिल गरेका छन् । उनी गत २५ डिसेम्बरमा मात्रै १७ वर्ष लामो निर्वासनबाट स्वदेश फर्किएका थिए । बंगलादेशमा साढे ३ दशकभन्दा लामो समयदेखि खालिदा र हसिनाले शासन गरेका छन् ।३ सय सिटमा प्रत्यक्ष निर्वाचन हुने बंगलादेशमा बहुमतका लागि १५१ सिट ल्याउनुपर्छ । बीएनपीले २९९ सिटमा भएको निर्वाचनमा २१६ सिट जितेको छ ।
बंगलादेशमा करिब २० वर्षपछि पहिलोपटक बीएनपीको नेतृत्वमा सरकार बन्ने भएको छ । सन् २००१ को निर्वाचनमा जित हासिल गरेर खालिदा जियाले २००६ सम्म सरकार चलाएयता बंगलादेशमा बीएनपीले चुनाव जितेको थिएन ।त्यसैगरी, भारतमा निर्वासित जीवत बिताइरहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले यो निर्वाचन पूर्ण रुपमा फर्जी र असंवैधानिक भएको बताएकी छन् । उनले मोहम्मद युनुसले गैरकानुनी र असंवैधानिक रुपमा सत्तामा कब्जा गरेको र त्यहीअनुसार चुनाव गराएको आरोप लगाएकी छिन् ।हसिनाको दललाई निर्वाचन लड्न प्रतिबन्धसमेतलगाइएको थियो । निर्वाचन आयोगले २०२४ मा भएको विद्यार्थी आन्दोलनमा भएको हिंसामा ‘अवामी लिग’ को प्रमुख भूमिका भएको भन्दै निर्वाचन लड्न प्रतिबन्ध लगाएको थियो ।२००८ देखि २०२४ सम्म लगातार अवामी लिगको सरकार चलेको थियो र शेख हसिना सत्तामा रहिन् । तर, हसिनाको पार्टीलाई प्रतिबन्ध लगाएर भएको निर्वाचनमा बीएनपी विजयी भएको हो ।
३५ वर्षपछि पुरुष प्रधानमन्त्री
बंगलादेशले ३५ वर्षपछि पुरुष प्रधानमन्त्री पाउने भएको छ । तर सत्तापरिवारभन्दा बाहिर भने जाने छैन । सन् १९८८ मा काजी जफर अहमद प्रधानमन्त्री बनेदेखि हालसम्म त्यहाँ पुरुष प्रधानमन्त्री बन्ने अवसर पाएका थिएनन् ।सन् १९९१ देखि २०२४ सम्म बंगलादेशको राजनीतिमा पूर्वप्रधानमन्त्रीहरू खालिदा जिया र शेख हसिनापालैपालो प्रधानमन्त्री बने । विद्यार्थी आन्दोलनको बलमा हसिनाको सत्ता ढलेपछि मोहम्मद युनुसले सरकारको नेतृत्व गरे । तर, उनले प्रधानमन्त्री नभएर ‘प्रमुख सल्लाहकार’का रूपमा सरकारको नेतृत्व गरेका हुन् ।सामाजिक सञ्जालमा ७५ लाख फलोअर्स भएकी तास्निम जारा समेत पराजित भएपछि नेपालमा पनि चुनावको नतिजा बंगलादेशको जस्तै हुने अनुमान गरिएको छ । ३१ वर्षीया जारा पेसाले चिकित्सक हुन् ।आन्दोलनबाट उदाएकी युवा नेतृले भारी मतले चुनाव जित्ने अपेक्षा थियो । तर विपक्षी बंगलादेश नेसनालिस्ट पार्टीका हाबिबुर रसिदले १ लाख ११ हजार २१२ मत प्राप्त गर्दा उनले ४४ हजार ६८४ मत प्राप्त गरेकी छिन् ।
बंगलादेशको चुनावी परिणामले नेपालमा पनि प्रभाव पार्ने देखिन्छ । नेपालका शीर्ष नेतादेखि अन्तर्राष्ट्रिय सुपरस्टार खेलाडीको भन्दा धेरै फलोअर्स भएका बालेन्द्र साह भावी प्रधानमन्त्रीका रुपमा झापा–५ बाट उम्मेदवारी दिएका छन् ।काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर उनी संघीय निर्वाचनमा होमिएका छन् महानगरपालिकाको कार्यसम्पादनमा सबै भन्दा कम अंक प्राप्त गरेका उनी फलोअर्सकै भरोसा प्रधानमन्त्री बन्ने दौडमा छन् ।
पुराना राजनीतिक दलहरुका नेताहरु चरम भ्रष्टाचारमा लिप्त हुदाँ देशले गतिशिलता प्राप्त नगरेको भन्दै जेन–जी आन्दोलन भएको थियो ।देशमा शिक्षा, स्वास्थ्य र रोजगारको अभावमा नागरिकले विदेशिनु परेको पीडाले आन्दोलनको उदय भएको थियो । उक्त आन्दोलनलाई हाइज्याक गरेर आफ्नो हातमा लिएको रास्वपा यसपटक बहुमत ल्याएर पुराना पार्टी र पुराना नेता बढार्ने दृढ योजनामा छ ।त्यसैले रास्वपाले हरेक निर्वाचन क्षेत्रमा सामाजिक सञ्जालमा फलोअर्स बढी भएका उम्मेदवार उठाएको छ । कलाकार, पत्रकार, सामाजिक अभियन्ता लगायतले उम्मेदवारी दिएका छन् ।तर बंगलादेशको चुनावी परिणामले नेपालमा पनि त्यस्तै पपरिणाम आउने बताइएको छ । फलोअर्सले होइन, भोटले मात्रै चुनाव जित्न सकिने भन्दै नागरिकहरुले आंकलन गरिरहेका छन् । खबरहवबाट साभार