
जाजरकोट । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित बनाउने उद्देश्यले जाजरकोटमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन गरिएको छ।
सशस्त्र प्रहरी बल जाजरकोट गुल्मको आयोजनामा सदरमुकाम खलंगामा गरिएको अभ्यासको उद्देश्य जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने र एकीकृत सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु रहेको छ।
निर्वाचन अवधिमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा नागरिकलाई सुरक्षित वातावरणमा मतदान गर्ने अवस्था सिर्जना गर्न सुरक्षाकर्मीहरूले योजनाबद्ध रूपमा आफ्नो तयारी र सीप प्रस्तुत गरेका थिए ।
अभ्यासमा मतदान केन्द्रको सुरक्षा व्यवस्थापनसँगै हुलदंगा नियन्त्रण, भीड व्यवस्थापन, संवेदनशील अवस्था सामना गर्ने तरिका तथा आपतकालीन प्रतिक्रिया सम्बन्धी विशेष अभ्यास पनि निर्वाचनमा खटिने प्रहरीका लागि गराइएको थियो ।
यस अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा जिल्ला निर्वाचन कार्यालयबीच समन्वय गरिएको थियो। निर्वाचनका क्रममा हुन सक्ने अवरोध र निर्वाचनविरोधी गतिविधिलाई कसरी निस्तेज पार्ने भन्नेबारे एकीकृत रूपमा अभ्यास गरिएको हो।
सुरक्षा निकायका प्रमुखले मतदान केन्द्रको सुरक्षामा तीनवटै सुरक्षा निकायको संयुक्त भूमिका कस्तो रहन्छ भन्ने कुरा नमुना अभ्यासमार्फत स्पष्ट पारिएको बताए। यसले निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन सुरक्षाकर्मीको मनोबल बढाएको उनको भनाइ छ।
कार्यक्रमको अन्त्यमा प्रमुख जिल्ला अधिकारीले निर्वाचन सफल बनाउन सुरक्षाकर्मी मात्र होइन, राजनीतिक दलहरूको पनि उत्तिकै जिम्मेवारी रहने उल्लेख गरे। विभिन्न किसिमका चुनौती आउन सक्ने भएकाले सबै पक्ष चनाखो रहनुपर्ने उनले बताए।
यस्ता अभ्यासले मतदान केन्द्र व्यवस्थित रूपमा सञ्चालन गर्न र सम्भावित जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।