२८ माघ २०८२, मंगलवार
२८ माघ २०८२, मंगलवार
नारामा होइन, नतिजामा विश्वास गर्छौं’ : कांग्रेस केन्द्रीय सदस्य भट्टराई
नारामा होइन, नतिजामा विश्वास गर्छौं’ : कांग्रेस केन्द्रीय सदस्य भट्टराई
  • paschimpatra

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ मा नेपाली कांग्रेसका उम्मेदवारसँग अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

सोमबार सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण भट्टराईले कांग्रेस नारामा होइन, नतिजामा विश्वास गर्ने पार्टी भएको बताए। उनले आश्वासन होइन, विश्वासको राजनीति कांग्रेसले गर्ने उल्लेख गर्दै मतदाताले अब हिजोको जस्तो मत खेर नफाल्ने समय आएको बताए। पार्टी सभापति गगन थापा भविष्यमा प्रधानमन्त्री बन्ने लक्ष्यमा रहेको उल्लेख गर्दै त्यसका लागि जाजरकोटबाट खडकबहादुर बुढाले चुनाव जित्नुपर्ने धारणा व्यक्त गरे। नागरिकलाई समुन्नत बनाउन कांग्रेसको जित आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा नेपाली कांग्रेस जाजरकोटका जिल्ला सभापति तथा कर्णाली प्रदेश सांसद बेदराज सिंहले गणतन्त्रपछि जाजरकोटबाट सांसद मन्त्री बने पनि जिल्लाले अपेक्षित विकास गर्न नसकेको स्वीकार गरे। उनले कुखुरा जस्तै मत किनबेच गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने भन्दै जनताले अब परिवर्तन चाहेको बताए। तत्कालीन माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेतलाई मात्रै जनताले भोट हाल्ने टेण्डर नलिएको उल्लेख गर्दै गत भदौमा देखिएको जेन–जी आन्दोलन परिवर्तनको संकेत भएको बताए। कांग्रेसप्रतिको मेटिएको माया पुनः जाग्दै गएको भन्दै यसपटक कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरे।

यस्तै, नेपाली कांग्रेस जाजरकोटका सहसचिव एवं प्रवक्ता छवि पन्तले जाजरकोट कांग्रेसको किल्ला भएको र आश्वासनको जिल्ला नभएको बताए। फागुन २१ गते त्यसको परिणाम देखिने दाबी गर्दै मतदातालाई पैसा र जागिरको प्रलोभन देखाएर मत माग्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा कांग्रेस जाजरकोटका साधारण सदस्य तथा भेरी नगरपालिकाकी उपप्रमुख सीता जैसीले विगतमा बाध्यताले केन्द्रीय राजनीतिक गठबन्धन गरिएको भए पनि अब कांग्रेस एक्लै चुनावमा जाने बताइन्। कांग्रेसबाहेक अन्य पार्टी विकल्प नभएको दाबी गर्दै विपद् तथा विभिन्न समस्यामा कांग्रेसले निरन्तर साथ दिएको उल्लेख गरिन्। उनले पटक–पटक जितेर गए पनि गाउँ नफर्कने नेतासँग कांग्रेसको तुलना गर्न नहुने बताइन्।

कार्यक्रममा कांग्रेसका उम्मेदवार खडकबहादुर बुढाले आफ्नो जित सुनिश्चित भएको दाबी गरे। आफू जनतासँग घुलमिल भएर काम गरेको, युवाहरू तथा अन्य पार्टीका समर्थकसमेतले मन पराएको कारण आफ्नो जित निश्चित रहेको उनको भनाइ थियो।

कार्यक्रमकै क्रममा विभिन्न पार्टी परित्याग गरी केही व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

  • २७ माघ २०८२, सोमबार प्रकाशित
  • Nabintech