
११ माघ रुकुम पश्चिम । नेकपा एमालेले रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई साथ दिने सहमति भएसँगै त्यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक हुने भएको छ ।अघिल्लो निर्वाचनमा रुकुम पश्चिममा शर्मा भारी मतका साथ तत्कालीन नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए । तर, निर्वाचन अघि माओवादी विभाजन भएर शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपा बनाएका थिए । अहिले सोही प्रलोपाबाट शर्मा चुनावी मैदानमा होमिँदा एमालेसँग तालमेलको सहमति भएको हो ।
अघिल्लो निर्वाचनमा रुकुम पश्चिममा एमालेबाट नन्दराम देवकोटा उम्मेदवार बनेका थिए । उनले १२ हजार ९६९ मत प्राप्त गरेका थिए । जबकि शर्माले ३९ हजार ५४९ मत पाएका थिए ।समानुपातिककै मत हेर्दा पनि अघिल्लो निर्वाचनमा एमालेको रुकुम पश्चिममा ८ हजार भन्दा बढी मत देखिन्छ । एमालेले रुकुम पश्चिमबाट २०७९ को निर्वाचनमा ८ हजार ७६९ मत पाएका थियो । यस्तै कांग्रेसले ८ हजार ७६६ मत पाएका थियो ।त्यसबाहेक रास्वपाको पक्षमा २ हजार मत पनि नआउँदा अन्य दलले खासै मत पाएका थिएनन् । फागुन २१ को निर्वाचनमा रुकुम पश्चिमबाट १२ जना उम्मेदवार रहेका छन् ।अघिल्लो पटक कांग्रेसको उम्मेदवार नहुँदा यो पटक कांग्रेसको पनि उम्मेदवार रहेका छन् । कांग्रेसका राजु केसीको उम्मेदवारी परेको हो । यस्तै एमालेबाट उम्मेदवार रहेका नन्दराम देवकोटाले अब शर्मालाई नै समर्थन गर्नेछन् ।