
२९ पुस सल्यान । भारतको हिमाचल प्रदेशमा पर्ने सोलान जिल्लाको अर्की बजारमा घरमा आगलागी हुँदा दुईजना नेपालीको मृत्यु भएको छ । सोही घटनामा सातजना नेपाली बेपत्ता भएका छन् ।सोमबार पुस २८ बिहान भएको आगलागीमा सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ का दुई परिवारका नौजना परेका थिए । जसमध्ये दुईजनाको मृत्यु पुष्टि भइसकेको छ । सातजना बेपत्ता छन् ।मृत्यु भएका दुईजना नेपालीको शव भेटिएको छ । शवको डीएनए परिक्षणको लागि पठाइएको छ । डीएनए रिपोर्टआएपछि मात्र मृत्यु हुने नेपालीको पहिचान खुल्ने जनाइएको छ ।
मृत्यु र बेपत्ता भएका नौजना नेपालीमा सिद्ध कुमाख गाउँपालिका–२ का काशीराम कामी ४२, काशीरामकी श्रीमती टीका विक ३०, छोरी अनुकुमारी विक १३ र छोरा सन्दिप विक ८ छन् ।यस्तै, आगलागीमा परी मृत्यु तथा बेपत्ता हुने सूचीमा सिद्ध कुमाख–२ का धनबहादुर विक ३३, धनबहादुरकी श्रीमती कविता विक ३२, छोरी राधा विक १६, रेनुका विक ११ र छोरा राजन विक छन् ।सिद्ध कुमाख गाउँपालिका–२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीले भने नौजनाकै मृत्यु भएको जनाउँदै वडामा मंगलबार शोक बिदा दिइएको बताए ।भारतीय मिडियाका अनुसार आगलागी स्थानीय समयअनुसार बिहान साढे २ बजेतिर लागेको थियो । आगलागीमा लगभग १०–१५ वटा पसल जलेर नष्ट भएका छन् ।