
१४ पुस बाँके । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये ५२ जनालाई पक्राउ गरिएको छ ।जेनजी प्रदर्शनका क्रममा फरार भएकामध्ये ४२ जनालाई प्रहरीले पक्राउ गरेको र १० जना भागेर जिल्ला कारागारबाट अन्य कारागारमा हाजिर भएकालाई फर्काइएको नौबास्ता कारागारका जेलर जालन्धर भुसालले जानकारी दिनुभयो ।कारागारबाट फरार भएकामध्ये अझै ९३ जना कारगारमा आउन बाँकी रहेको र देशका विभिन्न अन्य कारागारबाट पाँच जनालाई फिर्ता ल्याइएको भुसालले बताउनुभयो ।तत्कालीन अवस्थामा भागेका कैदीहरूलाई नजिकको कार्यालयमा हाजिर हुन निर्देशन दिइएको थियो ।
अहिले कारागार आउने क्रम रोकिएको छ । त्यसैले उनीहरू खुला सिमानाको फाइदा उठाएर भारत गएको अनुमान भुसालले लगाउनुभयो ।नौबस्ता बाल सुधारगृहबाट भागेका ७८ बालबन्दीमध्ये ३९ जनालाई पक्राउ गरिएको छ । नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसँग भीडन्त गरेर भागेकाहरू हालसम्म ३९ जना मात्र पक्राउ परेको जानकारी दिँदै उनीहरूको खोजी कार्य विभिन्न माध्यमबाट भइरहेको बताउनुभयो ।फरार भएका बालबन्दीलगायत सबै प्रकारका कैदीबन्दीलाई बाल सुधारगृह र कारागारमा फर्किनका लागि गत असोज २० गतेसम्मको समयसीमा दिइएको थियो ।तर अझै ३९ जना बालबन्दी पक्राउ नपरेको नौबस्ता बाल सुधारगृहले जनाएको छ ।