
८ पुस सुर्खेत । गृहमन्त्री ओमप्रकाश अर्यालले भेरीगंगा नगरपालिका ११ मा निर्माणाधीन प्रक्रियामा रहेको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मंगलबार स्थलगत अवलोकन गरेका छन्।
कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पूर्वसन्ध्यामा आज सुर्खेतको वीरेन्द्रनगर पुग्नु भएका गृहमन्त्री अर्यालले आयोजना स्थलमा पुगेर आयोजनाको समग्र भौतिक र वित्तीय प्रगति तथा आयोजनाले झेल्नु परेका प्राविधिक र प्रशासनिक अप्ठ्याराबारे जानकारी लिनु भएको हो ।निरीक्षणका क्रममा मन्त्री अर्यालले परियोजनालाई अहिले परेको कानुनी अप्ठ्यारा फुकाउन आफूले पहलकदमी लिने बताउँदै परियोजनाका बाँकी कार्यलाई समयमै सपन्न गर्न आयोजना अधिकारीहरूलाई निर्देशन दिनु भयो ।
राष्ट्रिय गौरवको आयोजना भए पनि यसको प्रगति र निर्माणका कार्य २०६७ सालदेखि सुन्दै आएकोले अब यस परियोजना छिट्टै सम्पन्न भए तराई र यस प्रदेश अन्तर्गतका जिल्लाका नागरिकले मात्रै नभई समग्र देशले आर्थिक, जलविद्युत र सिँचाइ क्षेत्रमा आमूल परिवर्तन देख्न र प्रत्यक्ष रूपमा महसुस गर्न पाउने मन्त्री अर्यालले बताउनु भयो ।