
२० कात्तिक काठमान्डौं ।अमेरिकाको न्यूयोर्क शहरका नवनिर्वाचित मेयर जोरहान ममदानीले नेपाली रेस्टुरेन्टमा खाना खाएका छन् । मेयरमा निर्वाचित भएपछि न्यूयोर्ककको ज्याक्सन हाइटमा रहेको नेपाली स्वाद पस्किने लालीगुराँस बिस्ट्रो होटेलमा गएर उनले मःमः खाएका हुन् ।उनको साथमा कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा न्यूयोर्ककै प्रतिनिधित्व गर्ने डेमोक्र्याटिक नेतृ अलेक्जाण्ड्रिया ओकासियो कोर्टेज पनि थिइन् । उनीहरुले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।
ममदानीले मङ्गलबार भएको निर्वाचनमा ऐतिहासिक विजय हासिल गरेका हुन् । यो परिणामले न्यूयोर्कको राजनीतिक दिशा परिवर्तन गरेको मात्र नभइ सन् २०२६ को मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि प्रारम्भिक चेतावनीको रूपमा समेत देखिएको छ ।ममदानीको यो विजयी परिणामसँगै डेमोक्रेटिक पार्टीले भर्जिनिया र न्यूजर्सीको गभर्नर चुनावमा पनि उल्लेखनीय सफलता हात पारेको छ ।