२५ असोज सियोल । उत्तर कोरियाले सत्तारुढ वर्कर्स पार्टी अफ कोरियाको ८० औँ वार्षिकोत्सव मनाउने क्रममा शुक्रबार राति भएको सैन्य परेडमा नयाँ हाइपरसोनिक ग्लाइड भेहिकल र अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल आईसीबीएम प्रदर्शन गरेको छ।प्योङ्याङको किम इल सुङ स्क्वायरमा भएको रात्रि परेडमा उत्तर कोरियाको ‘सबैभन्दा शक्तिशाली आणविक रणनीतिक हतियार प्रणाली’ भनिएको ह्वासोङ– ११ मा हाइपरसोनिक हतियार र ह्वासोङ–२० आईसीबीएम लगायतका हतियारहरू समावेश थिए।
यो उत्सव नेता किम जोङ उनले बेइजिङमा भएको विशाल चिनियाँ सैन्य परेडमा भाग लिएर महत्त्वपूर्ण कूटनीतिक सफलता हासिल गरेको एक महिनापछि भएको हो । उक्त यात्रामा उनले चिनियाँ नेता सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनजस्ता विश्वका दिग्गजहरूसँग उभिने दुर्लभ मौका पाएका थिए।