
 
      २४ असोज सल्यान । सल्यानका एक युवकको बिहे गरेको आठ दिनमै मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ।कुमाख गाउँपालिका–५ का २३ वर्षीय प्रकाश घर्तीको बिहीबार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो।
मृतक प्रकाशका दाजु हरिबहादुर घर्तीका अनुसार प्रकाशको बिहे असोज १६ गते गरिएको थियो। प्रकाश साढे तीन महिना पहिले कतारबाट घर फर्किएका थिए। कतारबाट फर्किएपछि प्रकाश र दिलमायाको बिहे भएको थियो। बिहेपछि दसैंको टीका थाप्न भनेर श्रीमतीसँगै ससुराली गएको समयमा सालासँग बजार घुम्न गएका बखत उनीहरू दुर्घटनामा परेका हुन्।जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार ससुरालीबाट घुम्न गएका सालाभेना रूकुम पश्चिमको झुल्नेटाबाट ससुराली नुवाकोट गाउँतर्फ जाने क्रममा घर्तीले चलाएको रा २ प ७०२२ नम्बरको मोटसाइकल दुर्घटनामा परेको थियो।दुर्घटनामा परी घर्तीका साला रूकुम पश्चिम चौरजहारी नगरपालिका –१४ नाउलाका १८ वर्षीय महेन्द्र पुन पनि घाइते भएका थिए।प्रहरी निरीक्षक पुनका अनुसार मोटरसाइकल सडकबाट झन्डै चार सय मिटर जति तल खसेको थियो।मोटरसाइकल पल्टिँदै तल खस्ने क्रममा महेन्द्रले भने सल्लाको रूख समातेर ज्यान जोगाउन सफल भएको प्रहरी निरीक्षक पुनले बताए।तत्काल प्रहरीले उद्धार गरी दुबै जनालाई झुल्नेटास्थित आकाश पोलिक्लिनिकमा पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि रूकुम पश्चिम जिल्ला अस्पताल सल्ले पुर्याउना साथ चिकित्सकले घर्तीलाई मृत घोषणा गरेका थिए।