२४ असोज काठमान्डौं । भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले यस वर्षको नोबेल शान्ति पुरस्कार जितेकी छन्।भर्खरै इसराइल र हमासको युद्ध विराम गराउन सफल भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयसम्म अभियान चलाए पनि मचाडोले सो पुरस्कार पाएकी हुन्।५८ वर्षीय मचाडो भेनेजुएलाकी प्रमुख विपक्षी नेता हुन्। निकोलास मादुरोको तानाशाही सरकारले उनलाई गत वर्ष भएको राष्ट्रपतीय निर्वाचन लड्न नदिएपछि उनकै पहलमा एडमुण्डो गोन्जालेजलाई विपक्षीले साझा उम्मेदवार उठाएका थिए।
गोन्जालेजले सो निर्वाचन जिते पनि मादुरोले धाँधली गरेर आफैलाई विजयी घोषणा गरेका थिए। गोन्जालेजको निर्वाचनमा राम्रो प्रदर्शनको श्रेय मचाडोलाई नै दिइन्छ।ट्रम्पले यसै वर्ष नोबेल शान्ति पुरस्कार पाउनु पर्ने दाबी गर्दै आएका थिए। त्यसकै लागि केही महिनाअघि नर्वेका अर्थमन्त्री जेन्स स्टोल्टेनबर्गलाई उनले अकस्मात् फोन गरेर सो पुरस्कारका लागि आफ्नो दाबी प्रस्तुत गरेका थिए।अमेरिकाले नेतृत्व गरेको सैन्य गठबन्धन नेटो महासचिवको १० वर्षको कार्यकाल स्टोल्टेनबर्गले गत वर्षको अक्टोबरमा पूरा गरेका थिए।
ट्रम्पको पहिलो कार्यकालमा पनि स्टोल्टेनबर्ग नेटो महासचिव रहेका कारण ट्रम्पको उनीसँग राम्रो चिनजान थियो। त्यसैले उनले स्टोल्टेनबर्गसँग पुरस्कारबारे कुरा गरेका थिए।स्विडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा विभिन्न विधामा दिइने नोबेल पुरस्कार स्विडेनमा रहेको नोबेल फाउन्डेसनले दिन्छ।नोबेल शान्ति पुरस्कार विजेताको छनोट भने नर्वेली नोबेल समितिले गर्छ।