जाजरकाेट । जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो गरी लाखाैंको भ्रष्टाचार गरिएको तथ्य बाहिरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा संलग्न नगरपालिकाका कर्मचारी र ठेकेदार कम्पनी विरुद्ध विशेष अदालत काठमाडौंमा ३६ लाख २० हजार ५७८ रुपैयाँ बराबरको बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगको अनुसन्धान अनुसार आ.व. २०८०/८१ मा वडा नं ६, ९ र १० को कार्यालय भवन ठेक्का प्रक्रियामा सार्वजनिक खरिद नियमवली विपरीत बोलपत्रदाता कम्पनीहरुलाई जानीजानी अनुत्तीर्ण गरी लक्षित ठेकेदार न्यू विके / नहकुली जेभी लाई ठेक्का दिलाइएको थियो । यसरी ठेक्का पाउँदा सरकार र नगरपालिकाको सम्पत्तिमा ठूलो हिनामिना भएको अख्तियारले ठहर गरेको छ ।
मुद्दामा प्रतिवादी बनाइएका व्यक्तिहरुमा भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाश कुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्र बहादुर कठायत, जिन्सी शाखा प्रमुख कृति बहादुर थापा रहेका छन् । त्यस्तै ठेक्का पाउने न्यू विके विल्डर्स ए्ण्ड सप्लार्यसकी गंगा कुमारी खड्का र नहकुली निर्माणा सेवाका चित्र बहादुर बोहरा समेत मुछिएका छन् ।
आयोगले प्रतिवादीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कैद सजाय, जरिवाना र बिगो असुल उपर गर्न माग गरेको छ ।
स्थानीय सरकारकै तहमा ठेक्का प्रक्रियामा मिलेमतो, बदनियत र गैरकानूनी लाभ लिने खेल अझै रोकिएको छैन भन्ने तथ्य उजागर गरेको छ ।