११ भदौं काठमान्डौ । भारतीय क्रिकेट खेलाडी रविचन्द्रन आश्विनले फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग आईपीएलबाट पनि सन्न्यास लिएको घोषणा गरेका छन् ।उनले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो सन्न्यासको जानकारी दिएका हुन् । ‘आजदेखि मेरो आईपीएल करियर पनि समाप्त भएको छ,’ उनले भनेका छन् ।आश्विनले १६ वर्ष आईपीएल खेले ।
उनले आईपीएलमा कुल दुई सय २१ खेल खेलेका छन् । उनले आईपीएलमा पाँचवटा टोलीको प्रतिनिधित्व गरेका थिए ।आश्विनले सन् २०२४ मै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । उनले सन् २००९ मा चेन्नई सुपर किङ्सबाट पहिलोपटक आईपीएल खेलेका थिए ।त्यसपछि उनले राइजिङ पुणे सुपर जायन्ट्स, पञ्जाब किङ्स, दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबाट पनि आईपीएल खेलेका थिए ।अघिल्लो सिजन सन् २०२५ मा उनले चेन्नई सुपर किङ्सबाट खेलेका थिए । ‘विशेष दिन र विशेष कामको शुरूआत । भनिन्छ, हरेक अन्त्य भनेको नयाँ शुरूआत पनि हो । आजदेखि मेरा आईपीएल खेल जीवन पनि सकिएको छ ।
तर, आगामी दिनमा पनि म क्रिकेटमै सक्रिय हुनेछ,’ उनले भनेका छन् ।आश्विनले आईपीएलमा कुल एक सय ८७ विकेट लिएका छन् । उनले सबैभन्दा बढी विकेट चेन्नईका लागि लिए । चेन्नईबाट उनले एक सय ६ खेल खेल्दै कुल ९७ विकेट लिएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले एक सय ६ टेस्टमा पाँच सय ३७ विकेट, एक सय १६ एकदिवसीयमा एक सय ५६ विकेट र ६५ टी–२० अन्तर्राष्ट्रियमा ७२ विकेट लिएका छन् ।