जाजरकोट । सामाजिक विकास कार्यालय जाजरकोटको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
शनिबार खलंगा स्थित होटल र्याडिसन, जाजरकोटमा आयोजित कार्यक्रम पूर्व आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे ।
कार्यक्रममा सामाजिक विकास कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा गरेको प्रगति विवरण प्रस्तुत गरिएको थियो। समीक्षा अनुसार चालूतर्फ ८२.८९ प्रतिशत र पुँजीगततर्फ ९१.३८ प्रतिशत बजेट खर्च भएको जानकारी दिइएको थियो।
कार्यालय प्रमुख दसरथ लामिछानेकाे सभापतित्वमा सम्पन्न भएकाे कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्री, भेरी नगरपालिका जाजरकोटकी उपप्रमुख सीता जैसी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो भने प्रगतिकाे प्रस्तुतिकरण सूचना अधिकारी जगदिन न्यौपानेले गरेका थिए।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले बजेट कार्यान्वयन, सेवा प्रवाह र समन्वयमा देखिएका सफलताहरूको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्ययोजना बनाउन सुझाव समेत दिएका थिए।