जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला संगठन समिति, जाजरकोटले हालै प्रेस विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रका जनतालाई अझै टहरामा बस्न बाध्य बनाउने राज्यका नीतिप्रति गम्भीर आपत्ति जनाएको छ।
प्रेस विज्ञप्तिमा भनिएको छ, “राष्ट्र, राष्ट्रियता र श्रमजीवी जनताको पक्षमा निरन्तर क्रान्तिमा अविचलित पार्टी अहिले दलाल पुँजीवादी व्यवस्थाबाट उत्पीडित सर्वसाधारणको आवाज बनिरहेको छ।” नेपाली जनताको न्यूनतम अधिकार गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार दलाल भ्रष्टतन्त्रको पेवा बनेको उल्लेख गर्दै पार्टीले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि निरन्तर संघर्ष गरिरहेको जनाएको छ।
२०८० कार्तिक १७ गते राति ११:४७ बजे रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट जाजरकोटका धेरै माटाका घरहरू पूर्ण रूपमा ध्वस्त भए। तर दुई वर्ष पुग्न लाग्दा पनि जनतालाई अस्थायी टहरामा बस्न बाध्य पारिएको भन्दै पार्टीले आक्रोश व्यक्त गरेको छ।
“राज्यले नव निर्माणतर्फ ध्यान नदिएर परम्परागत ढंगले पुनर्निर्माण अघि बढाइरहेको छ। सबै कच्ची घरहरूलाई समेट्ने नीतिबिना विभेदकारी ढंगले वर्गीकरण गरिएको छ, जसमा नेकपा (बहुमत) गम्भीर आपत्ति जनाउँछ,” विज्ञप्तिमा भनिएको छ।
पार्टीले यस्तो विभेदकारी पुनर्निर्माण प्रक्रिया तत्काल रोकेर जाजरकोटी जनताको आवश्यकताअनुसार नीतिगत सुधार गर्न आग्रह गरेको छ। अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्थानीय सरकार तथा सरोकारवाला निकायले लिनुपर्ने चेतावनी पनि दिएको छ।
प्रेस विज्ञप्तिमा जिल्ला इन्चार्ज महेश र सचिव हिमालको हस्ताक्षर रहेको छ।