जाजरकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ स्थित ठुलो भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरीको मृत्यु भएको छ भने दुई बालबालिका बेपत्ता भएका छन् ।
जाजरकोट जिल्लाको नलगाड नगरपालिका ८ बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपालीसहित तीन जना बालबालिका आज दिउँसो करिब २: १५ बजेतिर भेरी नदीमा पौडी खेल्ने क्रममा बगेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनालको नेतृत्वमा उद्धार टोली खटिएको थियो ।
घटनास्थलबाट भगवती नेपालीलाई जीवितै उद्धार गरी आठबिसकोट नगर अस्पतालमा पुर्याइएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
घटनामा नलगाड नगरपालिका–८ निवासी सुरेन्द्र कुसारीका छोरा करिब १० वर्षीय महेश कुसारी र छोरी करिब १२ वर्षीया आशा कुसारी भने हालसम्म पनि बेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बेपत्ता बालबालिकाको खोजी तथा उद्धारका लागि जाजरकोटका विभिन्न प्रहरी इकाईहरूबाट परिचालित टोलीहरु भेरी नदीका विभिन्न किनारामा खटिएका छन् ।
घटनास्थलमा बालबालिकाहरूको लुगा, चप्पल र साइकलसमेत फेला परेको प्रहरीले जनाएको छ । भगवती, आशा र महेश तीनै जना विद्यालयबाट फर्कँदै गर्दा नदीमा पौडी खेल्ने क्रममा डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।