१६ बैशाख सुर्खेत । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ ।४९ वर्षीय शाहीको गएराति बराहताल गाउँपालिका–८ सोत खोलामा रहेको बस्तीमा मृत्यु भएको हो । अत्यधिक मदिराका कारण मुखिया शाहीको मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएका सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिनु भयो ।
तीनजना मुखिया रहेको राउटे समुदायका मुख्य मुखिया सूर्यनारायण हुन् । २०७२ जेठमा मुखिया चुनिएका उनी रास्कोटी गोत्रका हुन् । एक महिनाअघि मात्रै उनीहरु वीरेन्द्रनगर–१४ छेडामा भेट्नेगरी गिरीघाटबाट छुट्टिएका थिए ।२१ घरधुरी वीरेन्द्रनगर–१३ करेखोला किनारामा बसिरहेका छन् । मुखिया शाहीको नेतृत्वमा बाँकी २१ घरधुरी बराहतालको सोतकोला किनारा हुँदै श्रीचौर नजिकै पुगेको हो ।राउटे समुदायको चलन अनुसार तीनवर्षको फरकमा छुट्टाछुट्टै बाँडिने गरेका छन् । राउटे समुदाय दुई राउटे समुदायमा रास्कोटी, स्ववंशी र कल्याय गरी तीन गोत्र छन् । मुखियाको मृत्यु भएपछि यो समुदायको संख्या घटेर १३५ मा झरेको छ ।