
२ फागुन काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकप–२०२६ मा हालसम्म २० टिममध्ये अमेरिका र नेदरल्यान्ड्स बाहेकका टिमले दुई समूह चरणका दुई खेलमा प्रतिस्पर्धा गरिसकेका छन् । समूह ‘ए’ मा रहेका अमेरिका र नेदरल्यान्ड्सले भने समान तीन खेल खेलिसकेका छन् ।प्रतियोगितामा हालसम्म २१ खेलको नतिजा निस्किँदा केही टिम यस्ता छन्, जसले लगातार जितसहित आफ्नो सुपर–८ को सम्भावनालाई बलियो बनाएका छन् ।समूह ‘ए’ बाट भारत र पाकिस्तानले सुपर–८ मा प्रवल दाबेदारी प्रस्तुत गरेका छन् । यी दुवै टिम समान दुई खेलबाट चार अंकसहित समूहको शीर्ष र दोस्रो स्थानमा छन् । यही समूहमा रहेका नेदरल्यान्ड्स र अमेरिकाले भने तीन खेल खेल्दा दुई अंक जोडेका छन् । समूहको पुछारमा रहेको नामिबियाले भने अझै अंकको खाता खोल्न सकेको छैन ।
यस्तै, दुई खेलको समीकरण पूरा भइसक्दा समूह ‘बी’ को सुपर–८ सम्भावना रोमाञ्चक बनेको छ । यो समूहमा श्रीलंका र जिम्बाब्वे समान चार अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । यही समूहमा रहेको अस्ट्रेलिया भने दुई खेल खेल्दा दुई अंकसहित तेस्रो स्थानमा छ । जितविहीन आयरल्यान्ड र ओमान भने तालिकाको चौथो र पाँचौँ स्थानमा छन् ।नेपालसहितको समूह ‘सी’ अझैसम्म पनि सबै टिमका निम्ति खुला रहेको छ । लगातार दुई जितसहित वेस्ट इन्डिज शीर्ष स्थानमा छ । दुई खेल खेल्दा एक जित र एक हार आत्मसात गरेका स्कटल्यान्ड, इंग्ल्यान्ड र इटाली क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । दुई खेल खेल्दा पनि अंकविहीन नेपाल भने तालिकाको पुछारमा छ । नेपालले समूह चरणको पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको र दोस्रो खेलमा इटालीसँग १० विकेटको हार बेहोरेको थियो ।प्रतियोगिताको समूह ‘डी’ मा न्युजिल्यान्ड, दक्षिण अफ्रिका, युनाइटेड अरब इमिरेट्स यूएई, अफगानिस्तान र क्यानडा छन् ।यो समूहमा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले लगातार दुई जितसहित सुपर–८ सम्भावनालाई बलियो बनाएका छन् । दुई खेलबाट दुई अंक जोडेको यूएई तेस्रो स्थानमा छ । दुई हार बेहोरेका दुई टोली अफगानिस्तान र क्यानडा भने क्रमशः चौथो र पाँचौँ स्थानमा छन् ।