जाजरकोट । बाल संरक्षणको क्षेत्रमा काम गर्ने जिल्ला र स्थानीय तहका सरोकारवालाहरूसँग एक दिने अन्तरक्रिया कार्यक्रम जाजरकोटको होटल रम्वामा सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा सम्पन्न कार्यक्रम पाँचतारा युवा संरक्षक मञ्च र वर्ल्ड भिजन इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको हो।उक्त कार्यक्रममा स्थानीय र संघसंस्थाहरूले बाल संरक्षण सम्बन्धी गरेका गतिविधि, असल अभ्यास, भोगेका चुनौती र आगामी योजनाहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा स्थानीय तहका प्रतिनिधिहरूले बाल संरक्षण क्षेत्रमा अपनाइएका अभ्यास, समस्या तथा सुधारका योजनाहरू प्रस्तुत गरे। पाँचतारा युवा संरक्षक मञ्चले बाल संरक्षण परियोजनामार्फत हासिल गरिएका उपलब्धिहरू र सिकाइ प्रस्तुत गर्दै आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालनको आवश्यकता औंल्याएको थियो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रतिनिधिले जिल्लामा भएका बालबालिकासम्बन्धी घटनाहरू, ती घटनाको न्यूनीकरणमा नेपाल प्रहरीले खेलेको भूमिका, महिला तथा बालबालिका सेवा केन्द्रमार्फत प्रदान गरिएका सेवाहरू र हालसम्म आइरहेका चुनौतीहरूको बारेमा जानकारी दिएका थिए।
कार्यक्रममा एकद्वार संकट व्यवस्थापन केन्द्रले पनि संकटका बेला बालबालिका लक्षित सेवा र संयोजनको प्रस्तुति दिएको थियो।
सहभागीहरूमध्ये अधिकाँशले नीति, कानुन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायबीच समन्वय र साझा प्रतिबद्धता आवश्यक रहेको बताएका थिए। कार्यक्रममा अनुभव आदानप्रदान, सामूहिक प्रतिबद्धता संकलन र बाल संरक्षण प्रणाली सुदृढीकरणका लागि सहकार्यका थुप्रै बुँदाहरू तय गरिएको थियो।यस कार्यक्रमले जिल्लाभर बाल संरक्षणसँग सम्बन्धित क्रियाकलापहरूलाई थप प्रभावकारी र समन्वयात्मक बनाउने विश्वास लिइएको छ।